
सन्ततिको सुख देख्न आफ्नो सुख हर्छिन् आमा
दु:ख दर्द ममताको आँचलले भर्छिन् आमा
मुहारमा कान्ति ल्याउन आफ्नै ब्यथा लुकाएर
अप्ठ्यारा ती सयौ झङ्घार हाँसी हाँसी तर्छिन् आमा
लाख गल्ती माफ गर्दै सुमार्गको बाटो देखाइ
तिम्रो हरेक पाइलामा उज्यालो नि छर्छिन् आमा
सुख दिन संघर्सको युद्ध लड्नु परे पनि
ज्यानको बाजी लगाउँदै सधैँ अघि सर्छिन् आमा
अधेँरीमा जून बनी शितलता बर्षाउँदै
बिहानीको किरणसंगै तिम्रै पूजा गर्छिन् आमा
