अनन्त लम्साल
शीर माथि बोझ बोकी,अश्रुनदी तर्न सक्छे।
जननी ऊ फूलिदिन्छे,तेरै निम्ती झर्न सक्छे।।
कयौँ गल्ती माफ गर्दै, सुमार्गको रेखा कोरी ,
तैँले हिँड्ने बाटाभरि,जून टिपी छर्न सक्छे।
संसारै हो सन्तती त, सुख-दु:ख भोली-आज,
बिर्सिएर देव सारा, तेरो पूजा गर्न सक्छे।
बगाएर रातो-दिनै, आँखाबाट मेची काली ,
मुटुभित्र ममताको ,पोखरी त्यो भर्न सक्छे।
ऊस्का लागि दु:ख के छ?,तेरो हाँसो-खुशी सामु,
सन्ततीकै निम्ती आमा, सयौँ चोटि मर्न सक्छे।।